बजेटमाथि सैद्धान्तिक छलफल शुरू हुँदै, एमालेले संसदबाटै ‘भण्डाफोर’ गर्ने

बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार ०९:५७

मकवानपुर । संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो ।

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै बजेटमाथिको छलफलको सम्भावित कार्यसूची रहेको राष्ट्रियसभा बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

यसैबिच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट हावादारी भएको भन्दै संसदमै भण्डाफोर गर्ने जनाएको छ । एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढन पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ। बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।

त्यसैगरी पार्टी निकट अर्थशास्त्रीहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*