घोषणा पत्रमा भएका काम गर्न सकेका दिन उत्सव मनाउने बालेनको भनाई

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार ११:४०

काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। फेसबुकमा लामो स्टेटस लेख्दै शाहले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका हुन्।

आफ्ना समर्थकलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ ।

हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’

उनले ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु सुनिरहेको अवस्थामा र्यालीका लागि काठमाण्डौँ आउने दुख नगर्न आग्रह गरेका छन्। ‘यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’ उनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’ हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।’

शाहको जिन निश्चित भएपनि घोषणा भईसकेको छैन। मत गणनाको अन्तिम समयमा उनले भनेका छन्, ‘अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

शाहले अबको बाटो सहज नभएकोले उनीहरुको अभियानको वास्तविक परिक्षा अब सुरु भएको उल्लेख गरेका छन्। ‘हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।’

उनले अगाडि लेखेका छन्, ‘हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ । अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’ हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*