७२७ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, दुई नगरमा न मतदान न गणना

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०७९, सोमबार १०:१२

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले ३ सय २०, नेकपा एमालेले १ सय ९८ र नेकपा माओवादी केन्द्रले १ सय २० स्थानीय तहको प्रमुख पद जितेका छन्। जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४/४ स्थानीय तह जित्दा १२ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

मतगणना चलिरहेका पाँच महानगरपालिका, २ उपमहानगरपालिकासहित २४ स्थानीय तहको नतिजा आउन बाँकी छ। तीमध्ये नेकपा एमाले ८, नेपाली कांग्रेस ४, माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी २ र अन्य उम्मेदवार ८ स्थानमा अगाडि छन्।

उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरु भएको छैन्। कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बुढीगंगा नगरपालिका ८ को मतदान स्थगित गरिएको थियो। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएको थियो।

त्यसपछि कांग्रेस र एमालेले अहिलेकै अवस्थामा मतगणना गर्नुपर्ने र एकीकृत समाजवादी लगायतका दलले पुनः मतदानको माग गरेकाले मतगणना सुरु हुन नसकेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*