आगामी बजेटमा व्यक्तिगत आयकरको दायरा बढाउने सरकारको तयारी

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार १०:००

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ ।

हाल व्यक्तिका हकमा ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजारको आम्दानीसम्म १ प्रतिशत कर लाग्ने व्यवस्था छ । तीन आर्थिक वर्षयता आयकरको सीमा स्थिर छ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउनुभएको थियो । त्यसअघि व्यक्तिका हकमा ३ लाख ५० हजार रुपैयाँसम्म र दम्पतीका हकमा ४ लाख रुपैयाँसम्मको आम्दानीमा कर लाग्दैनथ्यो ।

डा. खतिवडाले बजेटमार्फत ५० हजारका दरले सीमा बढाएर व्यक्तिगततर्फ ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजार रुपैयाँ आम्दानीमा कर नलाग्ने व्यवस्था गर्नुभएको थियो । तर, त्यस यता तीनवटा बजेटले आयकरको तल्लो सीमामा कुनै हेरफेर गरेको छैन ।

विगत तीन वर्षको औसत मुद्रास्फीति ५ दशमलव १८ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव १४ प्रतिशत रहेको छ ।

विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थ, व्यापारको लागत तथा कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा मूल्यवृद्धि अझ अकासिने सम्भावना रहेको अर्थविद्हरुले बताउँदै आएका छन् ।

सरकारले प्रगतिशील कर प्रणालीअनुसार ‘बढी आम्दानी गर्नेलाई बढी कर र कम आम्दानी गर्नेलाई कम कर’ लगाउने नीति लिने अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

नेपालमा हाल अविवाहित व्यक्तिले चार लाख रुपैयाँसम्म र विवाहितले ४ लाख ५० हजारसम्म १ प्रतिशतले सामाजिक सुरक्षा कर तिर्नुुपर्छ । त्यस्तै, त्यसमाथि एक लाखमा १० प्रतिशत, थप २ लाखमा २० प्रतिशत, थप १३ लाख रुपैयाँमा ३० प्रतिशत र २० लाखभन्दा बढी कर तिर्नुपर्ने आय भएमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*