जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको रिटमाथि सुनुवाइ

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १२:१२

मकवानपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः उठ्न आफ्नो पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत चैत ८ गते आयोगको आचारसंहिताको सो प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको उक्त आदेशविरुद्ध आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*