विप्लवलाई देखाएर गठबन्धनले चुनाव सार्न खोजेको अध्यक्ष ओलीको आरोप

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:५३

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।
ओलीले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहो¥याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनुभयो ।
स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताउनुभयो ।
‘शेरबहादुरजी, प्रचण्ड र माधव नेपालहरू चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ, अहिले विप्लवलाई अगाडि सार्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ, तर कुनै पनि बहानामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन ।’
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकि रहेको टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई काँग्रेसको पुच्छरको संज्ञा दिनुभयो ।
पुच्छर भए पनि, सिङ भए पनि यिनीहरू खासमा काँग्रेसनै भएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले कांग्रेसको जिउमा हिँडेको झिंगा र मच्छड धपाउने काममा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एस लागिपरेको दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै आपत्ति जनाउनुभयो ।
चालिस करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारबाही गरिएको उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको आरोप लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*