बकैया गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०८२, बिहीबार २२:०६

बकैया,मकवानपुर — बकैया गाउँपालिकाको आयोजनामा फागुन महिनाभर गाउँपालिकाका विभिन्न वडाहरूमा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) तथा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।


गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण गरिएको थियो भने अन्य सेवाअन्तर्गत उच्च रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिन जाँच, BMI मापन लगायतका परीक्षणहरू गरिएको थियो।


स्वास्थ्य परीक्षणसँगै सहभागीहरूलाई नसर्ने रोगको जोखिम, समयमै परीक्षणको आवश्यकता, स्वस्थ जीवनशैली अपनाउने तरिका तथा नियमित स्वास्थ्य जाँचको महत्वबारे सचेतना प्रदान गरिएको थियो।


बकैया स्वास्थ्य शाखा प्रमुख रमेश फयलले कार्यक्रमले ग्रामीण भेगका नागरिकलाई आफ्नै वडामा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताउनुभयो। उहाँका अनुसार समयमै परीक्षण र सचेतनाले पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगबाट हुने जटिलता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


गाउँपालिकाले आगामी दिनमा पनि यस्ता जनमुखी तथा निःशुल्क स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*