हेटौंडामा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गयो

बकैया दर्पण संवाददाता
१३ फाल्गुन २०८२, बुधबार १९:३१

मकवानपुर, २०८२ फागुन १३ — मकवानपुरको हेटौंडा  उपमहानगरपालिका–१९ बस्तिपुरमा आज बिहान सवारी दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ।
बिहान करिब ५:०५ बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीको टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङतान र पछाडि बसेका १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि चुरेहिल हस्पिटल लगिएकोमा उपचारकै क्रममा बिहान ५:५२ बजे दुवैलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक फरार भएको थियो। पछि ग २ ख ८९८ नम्बरको ट्रकलाई पर्साको बिरगंज –१३ पर्तिमाचोकस्थित ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक बारा जितपुरसिमरा–३ का ३६ वर्षीय अनिल साहको खोजी तथा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*