थाहा–२ टाखेलमा आगलागी: दुई लाख बराबरको क्षति
मकवानपुर । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरका अनुसार थाहा नगरपालिका–२ टाखेलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मिति २०८२ फागुन १७ गते राति करिब १०:३० बजे चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको ढुङ्गा, माटो तथा जस्तापाताले छाएको मानिस बसोबास नगर्ने पुरानो कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको सूचना प्राप्त भएको थियो।
सूचना लगत्तै इलाका प्रहरी कार्यालय पालुङ बाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा १० जना गरी जम्मा २५ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। नगर प्रहरी तथा थाहा नगरपालिका को दमकलको सहयोगमा राति करिब ११:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट उक्त घर पूर्ण रूपमा जलेर नष्ट भएको र करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कुनै मानविय तथा चौपाया क्षति नभएको जनाइएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय पालुङ बाट करिब २.५ किलोमिटर दक्षिणतर्फ पर्दछ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
