निर्वाचन सुरक्षाका लागि करिब ४ लाख सुरक्षाकर्मी परिचालन
मकवानपुर । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरू व्यापक रूपमा परिचालन गरिएको छ। निर्वाचन सुरक्षाअन्तर्गत करिब ४ लाख सुरक्षाकर्मी खटाइएको जनाइएको छ।
तथ्याङ्कअनुसार नेपाली सेनाबाट ६८ हजार ७२६ जना, नेपाल प्रहरीबाट ७५ हजार ८८७ जना तथा सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका ६८ हजार ७२६ जना, निर्वाचन प्रहरीका १ लाख ४८ हजार २० जना र करिब २ लाख १५ हजार कर्मचारीसमेत निर्वाचन व्यवस्थापनमा खटिनेछन्।
मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, संवेदनशील क्षेत्रको निगरानी तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन सबै निकायबीच समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गरिएको बताइएको छ। नागरिकलाई ढुक्क भएर मतदान गर्न अपिलसमेत गरिएको छ।
