“बकैया–६ मा जीवन विकास लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम: बचत, ऋण र सफलता का उदाहरणहरू सम्मानित”
बकैया,मकवानपुर। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जुनली शाखा कार्यालयको आयोजनामा मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बुद्ध पार्कमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थासँग आबद्ध केन्द्र प्रमुख तथा सदस्यहरूको राम्रो सहभागिता रहेको थियो। सहभागीहरूलाई बचत गर्ने बानी बसाल्ने, ऋणको सही सदुपयोग गर्ने, आर्थिक अनुशासन कायम गर्ने तथा घरपरिवारको आय–व्यय कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमको सभाअध्यक्ष शाखा कार्यालय जुनेलीका शाखा प्रमुख अविनाश रौनियार हुनुहुन्थ्यो भने प्रमुख अतिथि आन्तरिक लेखा परीक्षण विभागका विभागीय प्रमुख मनोज कुमार साह ज्यू हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा वडा नम्बर ०६ का वडा अध्यक्ष फूलमान भोम्जन, लघुवित्त विभागका विभाग प्रमुख शिव कुमार राम तथा समाजसेवी, बुद्धिजीवी समूह 3Zero Club र सम्पूर्ण केन्द्रका प्रमुख तथा उपप्रमुखहरू उपस्थित थिए।
कार्यक्रममा वक्ताहरूले वित्तीय साक्षरता बढेमा व्यक्तिको मात्र होइन, परिवार र समाजको आर्थिक अवस्था पनि सुधार हुने बताएका थिए। ग्रामीण क्षेत्रमा महिला तथा समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा केन्द्र प्रमुखहरूबीच अनुभव आदान–प्रदान तथा विभिन्न विषयमा छलफल पनि भएको थियो।
कार्यक्रमकै अवसरमा उत्कृष्ट काम गर्ने सदस्य तथा केन्द्रहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट बचतकर्ता तर्फ केन्द्र नं. ०१ की अनिता भोम्जन, केन्द्र नं. ०११ की सुभद्रा राई र केन्द्र नं. ०१ कै विष्णुमाया भोम्जन सम्मानित भएका छन्।
उत्कृष्ट एटिएम (ATM) तर्फ केन्द्र नं. ०११ की पार्वती बिश्कर्मा, केन्द्र नं. ०९ की संगिता माझी र केन्द्र नं. ०३८ की सुष्मा माझी सम्मानित भएका छन्।
सफल ऋणी तर्फ केन्द्र नं. ११ की निमा गोले, केन्द्र नं. ०६ की सन्तमाया माझी र केन्द्र नं. ०४० की लिलामाया तिमल्सिना सम्मानित भएका छन्।
त्यसैगरी उत्कृष्ट केन्द्र सान्त्वना पुरस्कार वटकुले जीवन विकास केन्द्र नं. ०५१ र हरकटि जीवन विकास केन्द्र नं. ०४२ लाई प्रदान गरिएको छ। उत्कृष्ट केन्द्र तर्फ तेस्रो स्थान जनसुधार जीवन विकास केन्द्र नं. ०१४, दोस्रो स्थान प्रगतिशील जीवन विकास केन्द्र नं. ०३ र प्रथम स्थान फूलबारी जीवन विकास केन्द्र नं. ०६ ले हासिल गरेको छ।
यसै अवसरमा अतिविपन्न सदस्यका ५ परिवारका विद्यार्थीहरूलाई पनि सहयोग गर्ने उद्देश्यले अपनाइएको छ। जसमा केन्द्र नं. ०१४ की सुकुमाया भोम्जनका छोरा–छोरी जीवन वाइबा र सरिता वाइबा, केन्द्र नं. ०२६ की सुनिता माझीकी छोरी सविना माझी, केन्द्र नं. ०१ की कुमारी माया घलानका छोरा पेमा घलान, केन्द्र नं. ०२ की बबिता माझीका छोरीहरू इन्दु माझी र सिम्रन माझी तथा केन्द्र नं. ११ की अमृता माझीका छोरा–छोरी पिटर थापा र प्रशंसा थापा रहेका छन्।
- यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय चेतना बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
