मनहरी–९ रजैयामा ट्रक र बस ठोक्किँदा १४ जना घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा ट्रक र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
मिति २०८२ फागुन १४ गते राति करिब २३:४० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो। हालसम्म २ जना मध्यम र १२ जना सामान्य घाइतेको CMC चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रकलाई घटनास्थलबाट हटाई सडक साइडमा पार्किङ गरिएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
