९ महिनापछि पुनः काठमाडौं पठाइयो मेलम्चीको पानी

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:४४

मकवानपुर । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार अम्बाथान हेडबक्सको १ नम्बर गेटबाट पानी पथान्तरण गरि ३८ नम्बर गेट खोलेर सुरूङमा पानी पठाउनुभएको हो ।
पथान्तरण गरिएको पानी १५ देखि १७ दिनमा काठमाडौं पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले जानकारी दिनुभयो ।
पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।
बाढीका कारण क्षति भएको हेडबक्सको स्ट्रक्चर उत्खनन् गरिरहेको र उत्खनन् पश्चात क्षतिको यकिन विवरण आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले जानकारी दिनुभयो ।
अहिलेलाई अस्थायी रूपमा पानी पठाउने योजनाअनुसार काम भएको र मेलम्ची खानेपानीलाई दीगो गर्न सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुबाट पानी काठमाडौं पठाउन हेलम्बुका जनताले सहयोग गरेको बताउनुभयो ।
‘यहाँका जनताले पाउनुपर्ने लेबी पाओस् र त्यसबाट पाउने २५ प्रतिशत लेबीले यस क्षेत्रको विकासमा टेवा पुगोस्’, शेर्पाले भन्नुभयो ।
बाढीले हेलम्बुको बस्ती तहसनहस बनाएको र स्थानीय तहसँग बस्ती संरक्षण गर्न रकम अभाव रहेकाले संघ सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । हेलम्बुका जनतालाई पुग्ने पानी छोडेर मात्र काठमाडौं लैजान अध्यक्ष शेर्पाको आग्रह छ ।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रोले मर्मत गरेपश्चात् पानी पुन पथान्तरण भएको हो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं लैजाने घोषणा गरेको थियो ।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*