मकवानपुरलाई ५० हजार डोज खोप ल्याउन बानियाको पहल

बकैया दर्पण संवाददाता
२५ श्रावण २०७८, सोमबार २०:००

मकवानपुर । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मकवानपुर जिल्लाका लागि ५० हजार डोज कोरोना विरुद्घको खोप दिने प्रतिबद्दता गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मन्त्रालयमा आज (सोमबार) पुगेको टोलीलाई स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप व्यवस्थापन गर्ने बचन दिएका हुन् ।

मकवानपुरका लागि आगामी २० दिनभित्र खोप पठाइसक्ने पनि राज्यमन्त्री श्रेष्ठको भनाई रहेको बानियाले जानकारी दिए ।

मकवानपुरमा कोरोना विरुद्घको खोप अभाव रहेको टोलीको भनाई सुनेपछि राज्यमन्त्री श्रेष्ठले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसंग टेलिफोनबाट जानकारी लिएका थिए । कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मकवानपुरमा कोरोना विरुद्दको एकलाख डोज खोप आवश्यक पर्ने जानकारी दिएपछि आगामी बीस दिनभित्र ५० हजार डोज खोप व्यवस्था गरिदिने बचन दिएका हुन् ।

मन्त्रालयबाट खोप प्राप्त भएपछि हेटौंडा बजारका पसले, साना एवम् मझौला व्यवसायी, निर्माण क्षेत्रसहितका मजदुर, औद्योगिक मजदुरसहित सर्वसाधारणलाई लगाउनुपर्ने बानिया सहितको टोलीको भनाई छ ।

पूर्व गृहराज्य मन्त्री समेत रहेका बानियाँले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अस्पतालसहित जिल्लाका स्वास्थ्य संस्थालाई कोरोनाको दोस्रो र सम्भावित तेस्रो भेरिएन्टका लागि तयारी अवस्थामा राख्न मन्त्रालयबाट आवश्यक व्यवस्था गर्न र बागमती प्रदेशसहित देशभर यथासिघ्र खोप व्यवस्थापनका लागि राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरे । मन्त्री श्रेष्ठले पनि नेपाल आइपुगेको खोप केन्द्रमा भण्डारण गरेर नराखी चाँडोभन्दा चाँडो जिल्लामा पठाउने काम भइरहेको बताउँदै सुझाव अनुसार अघि बढ्ने बताए ।

नेता बानियाका अनुसार भेटघाट तथा छलफलमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान,नेता राजेन्द्र घिसीङ लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*