पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता

टंक मुक्तान
१८ श्रावण २०७८, सोमबार ०७:२३

हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु । विधि र प्रकृया अनुसार तोकिएको समयमा गाउँसभा सम्पन्न भइसकेको छ र यसबारे विभिन्न मिडियामा पनि समाचारहरु सार्वजनिक भइसकेका छन् ।

नीति तथा कार्यक्रम, विनियोजन विधेयक र आर्थिक विधेयक असार १० गते उपाध्यक्षले प्रस्तुत गरेको हो । प्रस्तुत भएका नीति तथा कार्यक्रम र प्रस्तुत गरिएको विधेयकबारे गम्भीर छलफल भै सोही दिन पास भएको हो ।
सो पास गर्ने क्रममा उहाँहरु सबै सक्रियपूर्वक सहभागी हुनु भएको छ । ताली बजाएरै सर्वसम्मत रुपमा नयाँ बजेट र बिधेयकहरु पास भएका छन् । त्यस अघि नै कार्यपालिकाको बैठकले असार ५ गतेभित्र सबै वडाबाट योजनाहरु पेश गर्न गराउन निर्णय भएको थियो । तर, तोकिएको समय सिमाभित्र केही वडाहरुले योजनाको सूची पेश गरेनन् ।

केही ढिला गरी वडाबाट योजनाहरु आए र असारको ८ गते बसेको कार्यपालिका वैठकले ती योजनाहरु स्वीकृत गरी गाउँसभामा पेश गर्ने निर्णय गर्यो । यसबीचमा कसैबाट पनि असहमति दर्ज भएको छैन । र, सबै निर्णयहरु सर्वसम्मत भएका छन् । नेकपा एमालेकै केही साथीहरुले तोकिएको असार ५ गतेभित्र योजनाहरु नदिन वडा अध्यक्षहरुलाई भनेका रहेछन् ।

ती व्यक्तिहरु अहिलेसम्म पनि हाम्रो विरुद्ध क्रियाशील भइरहेका छन् । जसका कारण असार २७ गतेको कार्यपालिका बैठक भने केही वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । अविरल वर्षाका कारणले बाटाघाटा विग्रिएका छन् र तिनको मर्मत समेत गराउन सकिएको छैन ।

वडाका कयौँ योजनाहरुको भुक्तानी प्रकृया अबरुद्ध भयो । वडा नं ९ स्थित कालिका माध्यमिक विद्यालयमा बजेट अभावका कारण शिक्षकहरुको तलब भुक्तानी नपाएको समस्या पनि बैठक बहिस्कार भएपछि समाधान हुन सकेन ।

जहाँसम्म पालिका अध्यक्षले मनोमानी गरी बजेट बनएको हो भन्ने आरोप छ, त्यसमा पनि कुैन सत्यता छैन । वडाबाट प्राप्त योजनाहरुको सूचि सुरक्षित नै छ र त्यो सबैले हेर्न पाउने कुरा पनि हो । गाउँसभाबाट पारित योजनाहरुको सूचि सार्वजनिक भइसकेको छ । हाम्रो वेवसाइटमा पनि हेर्न सकिन्छ ।

सभाबाट वन तथा वातावरण विधेयक पारित गर्ने काम चाहिँ बाँकी नै थियो । त्यसका अलावा केही योजनाहरुको शुद्धाशुद्धी र करेक्सनको काम बाँकी थियो । त्यसलाई मुर्तरुप दिने २८ गते गाउँसभा सम्पन्न गर्ने र २७ गते चाहिँ कार्यपालिका बस्ने भन्ने सरसल्लाह भयो । यो बीचमा भारी वर्षा भयो ।

बाटोघाटो बिग्रिएका कारण कार्यपालिका सदस्यहरु ढिलो गरी पालिका पुग्नुभयो । भौगोलिक विकटताका कारण एकैदिनमा कैलाशमा कार्यपालिका सम्पन्न गर्न गाह्रो हुने भएकाले बास बस्ने गरिएको छ । भोलिपल्ट बिहान कार्यपालिका बैठक सम्पन्न गर्ने भन्ने भयो । त्यहीबीचमा तोकिएका समयमा वडाका योजनाहरु पेश नगर्ने व्यक्तिहरुले बैठक बहिस्कार गरेँ भनेर हिड्नु भयो ।

उहाँहरुले बहिस्कार गरेर हिँडेपछि वन तथा वातावरण विधेयक मात्रै पारित हुन बाँकी थियो । अन्य सबै कुरा त असार १० गते नै पारित भइसकेको थियो नि । त्यही भएर कार्यालयको तर्फबाट करेक्सनलगायतकाको कामहरु सकेर गाउँसभा समापत भएको घोषणा गरिएको हो ।

यस्ता गतिवधिका कारण समस्याहरु त बढ्ने नै भए । कतिपय कुराहरु कार्यपालिकाको निर्णयका आधारमा गर्नुपर्नेछ, त्यसमा गम्भीर असर परेका छन् । भुक्तानीका कामहरु पनि रोकिए ।

वर्षाका कारण बिग्रिएका बाटाघाटाको मर्मत अधुरो रह्यो । यस्ता कामहरुमा गम्भीर हुनुपर्ने वडा अध्यक्षहरु बहकाउमा लाग्दा समस्या हुने नै भयो, यद्यमी सबै समस्याहरुको समाधान गर्न पालिका क्रियाशील रहेको छ ।

वडा अध्यक्षज्यूहरु आफैले गाउँसभामा ताली बजाएर बजेट पास गर्नुभएको छ । उहाँहरुले हस्ताक्षर गर्नु भएको छ, गाउँसभाको फोटो, भिडियो सबै छ । अनि पछि अरुको भड्काउमा लागेर आफ्नै कार्यकाल असफल बनाउने खेल खेल्न हुन्नथ्यो । यो अन्तिम वर्ष हो, यही बर्ष हामीले धेरै महत्वपूर्ण काम गर्नुपर्नेछ । त्यसका लागि सबै जना एक हुनुपर्ने आवश्यकता छ ।

म सबै साथीहरुलाई काँधमा काँध मिलाएर कैलाश गाउँपालिकाको भौगोलिक विकटताआदी सबै कुरालाई ध्यानमा दिएर यो बाँकी समय जनताको पक्षमा काम गर्न अपिल गर्दछु । अहिले नै सच्चिएर इमान्दारितापूर्वक लागिएन भने पछि पछुताउनुमात्रै पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*