हेटौडामा  सवारी दुर्घटना: एक युवतीको मृत्यु, दुई घाइते

बकैया दर्पण संवाददाता
१८ चैत्र २०८२, बुधबार १३:२६

मकवानपुर – मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम सडक खण्डमा आज (मिति २०८२ चैत १८ गते) बिहान करिब ११:२५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हेटौडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट हेटौडातर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौडा–४ कर्राका १९ वर्षीय रोनिक कार्की दुबै खुट्टामा सामान्य चोट लागी घाइते भएका छन्। सोही मोटरसाइकलको पछाडि सवार हेटौडा–९ निवासी १८ वर्षीया एकता बैद्य गम्भीर घाइते भएकी थिइन्।

ठक्करपछि एकता बैद्य सडकमा लड्दा सोही दिशाबाट नवलपरासीबाट सिमेन्ट बोकेर वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकले ठक्कर दिँदा उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

यसैगरी, अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन्।घाइते तीनै जनालाई उपचारका लागि हेटौडा अस्पताल पठाइएकोमा गम्भीर घाइते एकता बैद्यलाई दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ का ३३ वर्षीय बद्री गडरिया इलाका प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*