फास्ट ट्र्याक निर्माणस्थलमा टुचन मेसिन ब्रेक फेल हुँदा एक जनाको मृत्यु, एक घाइते
मकवानपुर — मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको १ नम्बर पुल क्षेत्रमा टुचन मेसिन दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मिति २०८२ साल १० गते २७ गते साँझ करिब ६:०० बजे पुलको खाडल खन्ने कार्य सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई करिब २१ मिटर तल खसेको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगन, मकवानपुरबाट प्रहरी नायब निरीक्षक राजन थापा (कमाण्ड) को नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली साँझ ६:४५ बजे घटनास्थलमा पुग्दा टुचन मेसिनमा सवार जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी, फास्ट ट्र्याक निर्माणमा कार्यरत अन्दाजी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
त्यसैगरी, सोही समयमा खाडलभित्र काम गरिरहेका पाँचपोखरी थाङपाल गाउँपालिका–६ निवासी अन्दाजी ३७ वर्षीय जुल्फे तामाङ माथिबाट खसेको टुचन मेसिन लागेर ढाडमा चोट लागी घाइते भएका छन्। घाइते तामाङलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ भने घटनाको विस्तृत अनुसन्धानका लागि भोलि बिहान प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटिने बताइएको छ।
