स्थानीय विकासमा सामुदायिक वनको भूमिका उल्लेख गर्दै २७औँ साधारण सभा सम्पन्न
बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं. ७ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको २७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
साधारण सभामा बकैया गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष मानबहादुर सिङतान प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने डिभिजन वन कार्यालय हात्तिसुडे शाखाका प्रमुख पूर्णप्रसाद पोखरेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा जनक माध्यमिक विद्यालयका अध्यक्ष विकास भोम्जन, डिभिजन वन कार्यालय हात्तिसुडेका रेन्जर होमनाथ सापकोटा, निशा पंगेनी, वन रक्षक हरिकृष्ण कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा वन उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभाको अध्यक्षता पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर थापा मगरले गर्नु भएको थियो। सभामा समितिका अध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
सभामा उपस्थित प्रमुख तथा विशिष्ट अतिथिहरूले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा स्थानीय विकासमा यसको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्दै समितिको आगामी कार्यकाल सफलताको कामना गर्नु भएको थियो।

लामो समयदेखि अन्योलमा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले यस साधारण सभामार्फत नयाँ निकास पाएको उपभोक्ताहरूले बताएका छन्।

अध्यक्ष किशोर थापा मगरले आगामी दिनमा समितिले अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी ढंगले आर्थिक तथा प्रशासनिक हिसाब–किताब सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
कार्यक्रमले सामुदायिक वनको पारदर्शिता, सहभागिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
