२ किलो अफिम जस्तो देखिने लागूऔषधसहित मकवानपुरबाट २ जना पक्राउ

बकैया दर्पण संवाददाता
२६ माघ २०८२, आईतवार १८:४५

मकवानपुर – मकवानपुर प्रहरीले २ किलो अफिम जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
मिति २०८२ साल माघ २३ गते दिउँसो करिब १३:३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्‍याङस्थित सडकमा चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा ना.४५ प. ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आएका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ४ निवासी वर्ष २८ का रबिन्द्र सिन्तान र सोही स्थानका वर्ष ३६ का राम बहादुर डिम्डुङलाई शंकाको आधारमा रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध तथा मोटरसाइकल नियन्त्रणमा लिई दुवै जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध कडाइका साथ अनुसन्धान र निगरानीलाई निरन्तरता दिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*