मनहरीमा चामल बोकेको ट्रक दुर्घटना, चालक र सहचालक घाइते
मकवानपुर — मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ शिबिरस्थित पूर्व–पश्चिम सडकखण्डमा चामल बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मिति २०८२।१०।२३ गते बिहान करिब ०५:४० बजेको समयमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६५७४ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट बायाँ साइडमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–३१ निवासी वर्ष २७ का सन्दिप चौधरी र सहचालक वर्ष २० का विशाल चौधरी घाइते भएका छन्। चालकको बायाँ हात र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने सहचालकको टाउको तथा हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर, चितवन पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्र.स.नि. बिसुनदेव महत्तोको कमाण्डमा ट्राफिक सहितको टोली घटनास्थलमा खटिएको थियो। ट्रक घटनास्थलमै रहेको र दुर्घटनाका कारण सडकमा सवारी आवागमन अवरोध नभएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्ने जनाइएको छ।
