कालिका माध्यमिक विद्यालयका २७४ बालबालिकालाई न्यानो कपडा तथा झोला वितरण

बकैया दर्पण संवाददाता
२४ पुष २०८२, बिहीबार १९:०६

मकवानपुर, बकैया । आज मिति २०८२ साल पौष २४ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका–२, धियाल स्थित श्री कालिका माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास शिक्षा (ECD) देखि कक्षा १० सम्म अध्ययनरत २७४ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाक सुट) तथा अल्लाको झोला वितरण गरिएको छ।

चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनलाई ध्यानमा राख्दै आयोजित उक्त कार्यक्रम अन्तर्गत वितरण गरिएको सामग्रीले विद्यार्थीहरूलाई ठूलो राहत मिलेको विद्यालयले जनाएको छ।उक्त सहयोग आदरणीय व्यक्तित्व पशुपति विकास कोषका पूर्व अध्यक्ष डा. गोविन्द टन्डन तथा समाजसेवी डा. नेत्र आचार्यको विशेष सहयोगमा सम्पन्न भएको हो।

विद्यालय परिवारले सहयोगी मनहरू प्रति हृदयदेखि नै धन्यवाद व्यक्त गरेको छ।यस कार्यक्रमलाई सहयोगी मनहरूसँग जोडिदिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य एवं समाजसेवी नारायण तिमिल्सिनालाई पनि विद्यालयको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरिएको छ।

कार्यक्रममा बकैया गाउँपालिका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षा अभिभावक संघ अध्यक्ष, तथा विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले यस्तो सहयोगात्मक कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास थप मजबुत बनाउने धारणा व्यक्त गरेका थिए।

विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक तथा विद्यार्थीमैत्री कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*