सरकारी सवारी साधन दुरुपयोग रोक्न राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण
काठमाडौ – राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखा सिंहदरबारले विभिन्न जिल्लास्तरका जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ।
केन्द्रका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि साथै कर्मचारीहरूले सरकारी गाडी निजी काम, घर–व्यबसाय, परिवारिक प्रयोजन तथा हिँडडुलका लागि प्रयोग गरेको गुनासो दोहोरिएको छ।
यसले सरकारी इन्धन, मर्मत खर्च, चालकको भत्ता तथा अन्य खर्च अनावश्यक रूपमा बढेको भन्दै केन्द्रले चासो व्यक्त गरेको छ।
यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत सरकारी सवारी साधनको उचित प्रयोग, दुरुपयोग रोकथाम र स्पष्ट मापदण्डका लागि निर्देशिका तयार गर्न निर्देशन दिइसकेको उल्लेख गरिएको छ।
त्यसअनुसार स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले नियमअनुसार मात्र सवारी प्रयोग गर्नुपर्ने र विपरीत कार्य भएको खण्डमा कारबाही सम्भव हुने केन्द्रले स्पष्ट गरेको छ।
उक्त पत्रमार्फत केन्द्रले मन्त्रालयलाई आवश्यक कार्यवाही एवं अनुगमन गर्न अनुरोध गरेको छ।
