बागमतीमा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धि ३ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । गाउँपालिकाको न्यायिक समिति सचिवालयले आयोजना गरेको तालिमको शुक्रबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभयो ।

तस्बिर : रबिन्द्र वाईबा
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घलानले समाजलाई बदल्न सबैको भुमिका रहने बताउनुभयो । समाजलाई विवाद र अपराधरहित सभ्य समाज बनाउन मेलमिलापकर्ताले विशेष भुमिका खेल्न सक्ने उहाँको भनाई छ । उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभएको छ ।

तस्बिर : रबिन्द्र वाईबा
आइतबारसम्म संचालन हुने तालिममा अधिवक्ताहरु जगन्नाथ सुवेदी र सिताराम अधिकारीले प्रशिक्षण दिनुहुनेछ । तालिममा सबै वडाका मेलमिलापकर्ताहरुको उपस्थित रहेको छ ।

तस्बिर : रबिन्द्र वाईबा
चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म बागमती गाउँपालिकाको न्यायिक समितिमा १२ मुद्दा दर्ता भएको छ । जसमध्ये ६ वटा फर्छ्यौट भएको छ भने ३ वटा बाँकी र ३ वटा सम्बन्धित निकायमा पठाइएको छ ।

तस्बिर : रबिन्द्र वाईबा
बागमती गाउँपालिकाको उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक फडिन्द्र तिमल्सिनाको सभाध्यक्षता तथा अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वरिष्ठ लेखा अधिकृत झम्कनारायण घलान, न्यायिक समितीका सदस्यहरु
निर्जन घिसिङ र भगवती माझी लगायतको आतिथ्यता रहेको थियो ।