लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट २ जना पक्राउ

बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय कुम बहादुर आले र भरतपुरकै वडा नम्बर ४ का ३२ वर्षीय दीपक परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ५ बजेर ५० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित पुर्व–पश्चिम सडकखण्डमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००७१ नम्बरको यात्रुबाहक ईभी गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट खैरो हेरोइन फेला परेको हो ।
ईभी गाडीमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाएर ल्याइएको अवस्थामा ५७ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको छ । उक्त लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।