भरुवा बन्दुकसहित राक्सिराङका थिङ पक्राउ

बकैया दर्पण: मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानका ५२ वर्षीय जीत बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार साँझ ५ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी-९ स्थित हरियाली सामुदायिक वनमा थिङले अबैध रुपमा भरुवा बन्दुक (हतियार) बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो ।
थिङको साथबाट उक्त एक थान भरुवा बन्दुक, फलामको विभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३ सय ५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान, खुकुरी १ थान बरामद गरेको जनाएको छ । थिङलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।