११ किलो गाँजासहित हेटौंडाबाट २ जना पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-१ का ४२ वर्षीय सुरेश दास थारु र पर्सागढी नगरपालिका-२ का २९ वर्षीय अर्जुन महतो थारु रहेका छन् ।
सोमबार बिहान ११ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९, नेवारपानीस्थित पुर्व-पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकेर चेकजाँच गर्ने क्रममा नारायणगढबाट हेटौंडाहुँदै गौरतर्फ जान आउँदै गरेको लु १ ख ७३९५ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।
उनीहरुलाई शंका लागेर बसबाट ओराली रितपुर्वक खानतलासी गर्दा झोलाभित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा ११ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
