बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया दर्पण संवाददाता
२४ पुष २०८१, बुधबार २०:४६

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताउनुभएको छ । यस अघि खेलकुद क्षेत्र नबुझेकाहरु मन्त्री बन्दा बजेट प्राथमिकतामा नपरेको र अहिले आफुलाई काम गर्न गाह्रो भएको उहाँको भनाई छ । अबको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकता हुने उहाँले बताउनुभयो ।
बकैया–३ स्थित बकैया रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा भएको छ । बुधबार दुई टिमले निर्धारित खेल समयको पहिलो हाफ खेलेको छ । दुई टिम बीचको बाँकी समयको खेल समय अभावका बिहीबार बिहान १० बजे निर्धारण भएको छ । जसमा वडा नम्बर ३ १-० गोलले अघि छ । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत बिहीवारको पहिलो खेलमा दिउँसो १ बजे वडा नम्बर ४ र १० बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियरतर्फ पौष २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, पुर्व गाउँपालिका अध्यक्ष दामोदर खनाल, मकवानपुर फुटबल महासंघका कार्यवाहक अध्यक्ष अरुण बल, वडा नम्बर ३ का भुमल सिं घलान, ४ का कार्यवाहक विजय भोलन, ५ की लक्ष्मी जिम्बा, ६ का फुल बहादुर भोम्जन, ७ का मान बहादुर सिंतान, ८ का विष्णु नेगी, ९ का टंकध्वज लोप्चन, १० का कमला वाईबा, ११ कार्यवाहक अध्यक्ष गोपाल न्यासुर, १२ ज्ञानेन्द्र बजगाई र बागमती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*