बागमती प्रदेशका सबै स्थानीय तहलाई बालश्रममुक्त बनाउन हातेमालो गछौं – मुख्यमन्त्री लामा

बकैया दर्पण संवाददाता
२९ भाद्र २०८१, शनिबार १८:५२

बकैया दर्पण : वाग्मती प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न प्रदेशले हातेमालो गर्ने तयारी गरिरहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बताएका छन् ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘पनौती नगरपालिका बालश्रममुक्त घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री लामासहित वाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, तीर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवाला सबैले त्यसको दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा मुख्यमन्त्री लामाले बालबालिकाको हक अधिकार र बाल अधिकार संरक्षण गर्न वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।

पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० तयार गरी अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधि सञ्चालन गरेर नगरपालिकालाई बालश्रममुक्त घोषणा गरेको नगर प्रमुख भण्डारीले बताए । नगरका १ देखि १२ वडा बालश्रममुक्त भएसँगै पूरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका कन्ट्री डाइरेक्टर नुमन ओजकनले विभिन्न संघ–संस्थाको साथ र सहयोगमा नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न सम्भव भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*