बागमती प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मनाउने तयारी

बकैया दर्पण संवाददाता
२० भाद्र २०८१, बिहीबार १५:४०

बकैया दर्पण : बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा लागेको हो ।

संविधान दिवस आगामी असोज १, २, ३ र ४ गते प्रदेश राजधानी हेटौँडासँगै प्रदेशका १३ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

संविधान दिवस प्रदेशस्तरमा मनाउन प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको संयोजकत्वमा संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ मूल समारोह समिति गठन गरिएको छ ।

बागमती प्रदेश सभाका प्रदेश सभामुख, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका सदस्य, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगका सदस्य, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, सचिवलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था रहेको मूल समारोह समिति गठन गरिएको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने क्रममा संविधान कार्यान्वयनका ‘नौ वर्षको उपलब्धि र चुनौती’ विषयक क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता, वृक्षरोपण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, खेलकुद कार्यक्रम , खुट्टा गुमाएका २५ जनालाई निःशुल्क रूपमा कृत्रिम खुट्टा प्रदान गरिनेलगायतका कार्यक्रम गर्ने गरी तय भएको छ ।

यस्तै प्रदेश मन्त्रालय तथा कार्यालयको विशेष सरसफाइ गरिने र हेटौँडा नगर क्षेत्रको सरसफाइको जिम्मेवारी हेटौँडा उपमहानगरपालिकालाई दिने निर्णय भएको छ । असोज २, ३ र ४ गते तीन दिन मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घ संस्था, शैक्षिक प्रतिष्ठान र सार्वजनिक निकायमा दीपावली गरिने र नागरिकलाई पनि दीपावली गर्न आग्रह गरिने छ ।

सार्वजनिक यातायात, सार्वजनिक निकाय र सार्वजनिक स्थलमा राष्ट्रिय झन्डा फहराउने कार्यक्रम तय गरिएको छ । साथै असोज ३ गते मकवानपुरको विविधता झल्कने झाँकी, ब्यान्ड बाजासहित मार्चपास र प्रभातफेरीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरिने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नागरिकको आन्दोलनपछि संविधान सभाबाट प्राप्त संविधानप्रति नागरिकले अपनत्व ग्रहण गर्ने गरी कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरका गरिने कार्यक्रमबारेको छलफलमा उहाँले संविधान र सङ्घीयताप्रति नागरिकले अपनत्व महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै सङ्घमा मात्र निर्भर हुँदा सङ्घीयताको औचित्य पुष्टि नहुने भएकाले प्रदेशले आफ्नो पहिचानका लागि फरक तरिकाले कार्यक्रम तय गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “संविधान दिवस मनाउँदा नागरिकसँग जोडिने गरी कार्यक्रम गर्नु आवश्यक छ ।

वर्तमान संविधान र सङ्घीयताबाट प्राप्त उपलब्धिबारे नागरिकलाई जानकारी गराउनु जरुरी छ ।”छलफल कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, स्वास्थ्यमन्त्री किरण थापामगर; उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ; आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलगाएतको  उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*