बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८१, बिहीबार ०६:१९

बकैया दर्पण : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मकवानपुर कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन पक्राउ परेका हुन्।

सोमबार साँझ मंगलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मंगलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बञ्चरोले हानेर मारेका थिए। पछि शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए।

घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*