फास्ट ट्रयाकको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

बकैया दर्पण संवाददाता
२२ श्रावण २०८१, मंगलवार ०६:०८

बकैया दर्पण : काठमाण्डाै–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर आज सुरुङ छिचाेलेका हुन ।

धेद्रे सुरुङको निजगढबाट काठमाण्डाैतर्फ आउने १६ सय ५ मिटर लामो सुरुङ गएको जेठमा नै छिचोलिएको थियाे ।  काठमाण्डौबाट निजगढतर्फ जाने १७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

अब काठमाण्डौबाट निजगढतर्फ महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । सबैभन्दा लामो ३३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा ६ वटा सुरुङ बन्दैछन्, यी सुरुङको लम्बाइ झन्डै साढे १० किलोमिटर छ । अहिलेसम्म झन्डै साढे ५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।

यस्तै यस आयोजनामा बन्ने ८९ वटा पुलको लम्बाइ १२ किलोमिटर ८८ मिटर रहेको छ । द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र खण्ड १० मा ठेक्का लागेर कामसमेत भइरहेको छ । खोकना खण्डको साढे ६ किलोमिटर खण्डमा ठेक्का हुन सकेको छैन ।

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि अहिलेसम्म केही प्याकेजको ठेक्का नै लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ सालको चैतलाई तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*