मकवानपुरको बकैया गाउँपालिकामा साइलेज उत्पादन सुरु

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०८१, बुधबार १०:१०

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकामा साइलेज तथा दाना उत्पादन सुरु भएको छ। पालिकाले सहुलियत दरमा कृषकलाई पशु आहारा उपलब्ध गराउने उद्देश्यले बकैया-७ मा साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको हो।

राष्ट्रिय योजना आयोगको ५० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको उद्योगमा पालिकाले करिब ५ करोड रुपैयाँ खर्चिएको छ। बागमती प्रदेश सरकारबाट पनि साइलेज उत्पादनका लागि उपकरण र केही आर्थिक सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए।

पालिका आफैँले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम प्रदेशभरका पालिकामध्ये बकैया पहिलो रहेको अध्यक्ष लामिछानेले बताए।

सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उत्पादन सुरु गरिएको उनले बताए।

‘किसानको बारीमै गएर पालिकाले मकैको बोटसहित किनेर ल्याउँछ र त्यसबाट साइलेज उत्पादन गरी सहुलियत दरमा किसानलाई नै बिक्री गर्छ। घाँस अथवा दुधिलो मकैलाई फेदबाटै काटेर टुक्राटुक्रा पारी पोषणतत्व कायम राखी ‘गुन्द्रुक’ झैँ तयार पारिने हुँदा आफैंले तयार पारेको साइलेजमा पशुका लागि आवश्यक भिटामिन, मिनेरल, प्रोटिनलगायत पौष्टिक तत्वहरु हुन्छ। त्यसकारण यो निकै फाइदाजनक हुन्छ’, अध्यक्ष लामिछानेले भने।

किसानलाई पीठो तथा चोकरको मूल्य महँगो पर्ने भएकाले साइलेज खुवाउँदा उत्पादन लागत पनि कम पर्ने भएकाले साइलेज उत्पादन थालिएको पालिकाका कृषि अधिकृत सचित रिजालले जानकारी दिए।

उनले पहिलो चरणमा पालिकाभित्रका कृषकलाई पुग्ने गरी साइलेज तथा दाना उत्पादन गरिने र विस्तारै अन्य पालिकामा समेत निर्यात गर्ने गरी उत्पादन बढाउने तयारी रहेको बताए। उद्योग सञ्चालनमा आएसँगै प्रत्यक्ष रुपमा ३० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*