रेमाल आँधीले १६ जनाको ज्यान लियो, ८४ लाख प्रभावित

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०८१, मंगलवार ०७:१३

बकैया दर्पण : भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको रेमाल नामको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो क्षेत्र जलमग्न भएको थियो।

आइतबार साँझ आएको रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

बंगलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु हुँदै आइतबार आएको आँधीले अर्को दिन कमजोर बनाएको थियो।

बङ्गलादेशका विपद्मन्त्री मोहिबबुर रहमानले चक्रवातका कारण कम्तीमा १० जनाको मृत्यु भएको जनाएका छन्। कोही डुबेर मरेका छन् भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन्।

कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन्। ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ।

आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा रहेको एक बजार तहसनहस पारेको छ। छिमेकी मुलुक भारतमा पश्चिम बङ्गाल राज्य सरकारका वरिष्ठ अधिकारी सुमित गुप्ताले करेन्ट लागेर तीनसहित कम्तीमा छ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्।

आँधीका कारण हजारौं घरहरु ध्वस्त भएका छन्, रुखहरु ढलेका छन् र विद्युत लाइनमा क्षति पुगेको छ । हावाहुरीले केही टिन र छाना भएका घरहरू उडाएको थियो भने माटोका झुपडीहरू भत्किएका थिए।

रेमाल चक्रवातअघि बंगलादेशमा करिब ३० लाख मानिसले दुर्घटना बाट बच्नका लागि बिजुली बन्द गरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सले पश्चिम बङ्गालका अधिकारीहरूलाई उद्धृत गर्दै कम्तीमा एक हजार २०० बिजुलीका पोलहरू उखेलिएको जनाएको छ।

बङ्गलादेश जलवायु परिवर्तनको प्रभावबाट विश्वको सबैभन्दा जोखिममा रहेको देशहरूमध्ये एक हो, जसले गर्मीदेखि बाढीसम्म चरम क्षति बेहोर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*