बन्द श्रीराम चिनी मिलको समस्या सुल्झाउन बन्यो कार्यदल

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०८१, बुधबार १९:३९

बकैया दर्पण : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख रहेका छन्।

मन्त्री भण्डारीले बजेट अगाडि सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन आग्रह गरे। उनले उद्योगलाई अन्यत्र सार्नुभन्दा सोही स्थानमा सञ्चालन गर्न सुझाव दिए। एक हप्ताभित्र सो उद्योगका समस्याको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सरोकारवालासित आग्रह गरे।

“बन्द उद्योग सञ्चालन गर्ने सरकारको उद्देश्य छ, हामी यो चिनी मिललाई बन्द गर्न वा सार्न भन्दैनौँ, बरु सञ्चालनका लागि के गर्न सकिन्छ त्यसमा मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उनले भने।

मिल सञ्चालनका लागि गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आवश्यक सहजीकरणका लागि पहल गर्ने बताए। उनले भने, “ठाउँ सारेर कुनै फाइदा हुँदैन, बरु त्यही ठाउँमा सञ्चालनको वातावरण बनाउन म तयार छु, प्रधानमन्त्री र अर्थमन्त्रीसँग यस विषयमा कुरा गर्नुपरे सरोकारवालासहित म पनि छलफलका लागि जाउँला।”

छलफलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्कालगायतले बन्द उद्योग सञ्चालन गर्नका लागि मन्त्री भण्डारीलाई मन्त्रालयका तर्फबाट आवश्यक पहलकदमीका लागि आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*