त्रिविले पायो नयाँ पदाधिकारी, विद्यार्थीले पाएनन् एक वर्षमा पनि परीक्षाको नतिजा

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८१, शुक्रबार २०:१३

बकैया दर्पण : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा २०८० फागुन १० गते प्राडा केशरजंग बराल नियुक्त भए। कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट त्रिविमा उपकुलपति नियुक्त गरेपछि बरालले समयमा परीक्षा नतिजा प्रकाशन गर्ने बताउँदै आएका छन्।

फागुन ११ गते पदभार ग्रहण गर्ने वेलामा उनले भनेका थिए, ‘समयमा परीक्षा नतिजा प्रकाशन नहुँदा लाखौँ विद्यार्थीले अनेक समस्या भोगिरहेका छन्, त्यसैले अबदेखि समयमा नै परीक्षा नतिजा प्रकाशित गर्ने मेरो योजना छ।’

त्रिविले २०औँ उपकुलपतिमा योग्य व्यक्ति पाएको भन्दै विद्यार्थीहरूले समयमा नतिजा प्रकाशन हुने अपेक्षा लिए। भद्रगोल त्रिवि सुधार हुने पनि अडकल गरे। तर उनी त्रिविको बागडोर सम्हालेको दुई महिना बितिसक्दा पनि समयमा नतिजा प्रकाशन नभएपछि भने विद्यार्थीहरूले अब नतिजा समयमै आउने आस मारेका छन्।

त्रिवि उपकुलपति बरालले आफ्नो टिम बनाउन पाउने मागअनुसार त्रिविमा अन्य पदाधिकारीहरूको पनि नियुक्ति भएको एक महिना हुन लागेको छ। उपकुलपति बरालले सिफारिश गरेका रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई प्रधानमन्त्रीले ३० चैतमा नियुक्त गरेका थिए।

तर त्रिविले नयाँ पदाधिकारी पाइसके पनि विद्यार्थीहरू भने एक वर्षभन्दा बढी समयदेखि नतिजा कुरिरहेका छन्। बिबिएस प्रथम वर्षलगायत अन्य तहको परीक्षा नतिजा हालसम्म प्रकाशन हुन सकेको छैन।

बिबिएस प्रथम वर्षको परीक्षा २०८० जेठ महिनामा सञ्चालन भएको थियो। अब आउने जेठ महिनाले एक वर्ष भइसक्छ तर नतिजा प्रकाशन भएको छैन।

परीक्षार्थी भन्छन् : नतिजा पर्खिंदा पर्खिंदा कपाल फुल्न लागिसक्यो

नतिजा कुरिरहेका विद्यार्थीहरूले हालसम्म पनि नतिजा प्रकाशन नभएपछि त्रिवि उपकुलपति बरालको आलोचना गर्न थालेका छन्। उनीहरूले विद्यार्थीहरूको भविष्यमाथि त्रिविले खेलवाड गरिरहेको भन्दै तत्काल नतिजा प्रकाशन गर्न माग गरेका छन्।

नतिजा कुरिरहेकी सुमित्रा बोहराले समयमा नतिजा प्रकाशन नभएपछि विभिन्न तनाव लिनु परेको बताइन्। उनले थाहाखबरसँग भनिन्, ‘बिबिएस प्रथम वर्षको परीक्षा २०८० सालको जेठमा भएको हो तर अहिलेसम्म नतिजा प्रकाशन भएको छैन, जसले गर्दा धेरै तनावमा छु।’

उनका अनुसार समयमा नतिजा प्रकाशन नगर्ने प्रवृत्तिकै कारण पछिल्लो समय विद्यार्थी उच्च शिक्षाको लागि विदेशिने पनि गरेका छन्। तर सरकार भने गफमै सीमित छ।

नतिजा कुरिरहेका अन्य विद्यार्थीहरूले सामाजिक सञ्जालमा ठट्टा गर्दै नतिजा पर्खिँदा पर्खिँदा कपाल फुल्न लागेको बताएका छन्। नतिजा कुरिरहेकी कृति शर्मा फेसबुकमा लेख्छिन्, ‘यो रिजल्ट कुर्दा कुर्दा मेरो त कपाल फुल्न लागिसक्यो।’

नतिजा कुरिरहेकी अस्मिता पौडेलले नतिजा प्रकाशन नभएको देख्दा आफू दिक्क भएको बताउँछिन्। ‘घाँटी अँठ्याएर राखेको जस्तो भएको छ सास फेर्न गाह्रो भइसक्यो यो रिजल्ट नआएको देख्दा,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

अर्का आशिष शाक्यले खै रिजल्ट भन्दै त्रिविलाई प्रश्न गरे। उनले भनेका छन्, ‘रिजल्ट खै?, तनाव नदेऊ है, यो त अति भयो, एउटा रिजल्ट निकाल्न यति वर्ष समय लाग्छ भने अरू के भनौँ, भनि साध्य छैन।’

अझै त्रिविको भाका : साउन मसान्तसम्म सबै नतिजा प्रकाशन गरिसक्छौँ

त्रिवि परीक्षा उपनियन्त्रक राजेन्द्रकुमार पोखरेलले साउन मसान्तसम्ममा बाँकी सबै परीक्षा नतिजा प्रकाशन गर्ने बताए। उनले बिबिएस प्रथम वर्षको भने छिटो नै प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए।

‘साउन मसान्तसम्ममा बाँकी रहेका सबै परीक्षाको नतिजा प्रकाशित गर्ने लक्ष्य छ, बिबिएसको भने छिटो नै प्रकाशित हुन्छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*