१४ किलो गाँजासहित तीनजना पक्राउ

बकैया दर्पण । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै १४ किलो गाँजासहित कास्कीका दुई स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज विहान पोखरा महानगरपालिका–२७ ताल चोकबाट एकजना पक्राउ परेका थिए। उनी गोरखाको सुलिकोट गाउँपालिका–४ स्थायी घर भएका २४ वर्षीय मदन नेपाली हुन्।
इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा नौ किलो आठसय ग्राम गाँजा बरामद भएको हो।
कारको डिक्कीभित्र रातो प्लास्टिकमा पोका पारेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरीले बताएको छ। कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा १० दिन म्याद थप गरी नेपालीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट चार किलो एकसय ग्राम गाँजासहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।