मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु

बकैया दर्पण संवाददाता
१६ माघ २०८०, मंगलवार २०:१०

बकैया दर्पण। मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा आजबाट हेटौँडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा बागमतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो । बागमतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरेका थिए । बागमतीका तर्फबाट भुसाल र गौतमले खेलको पहिलो हाफमा एक-एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औँ मिनेटमा गौतमले थप एक गोल गर्दै बागमतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ ।

खेलको म्यान अफ द म्याच बागमतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा भोली न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पाबिचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*