काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य, प्रदर्शनकारीलाई चक्रपथभित्र पस्न नदिने योजना

बकैया दर्पण संवाददाता
७ मंसिर २०८०, बिहीबार १०:२९

मकवानपुर । काठमाण्डौ उपत्यकाको जनजीवन यतिबेला सामान्य छ । सडकमा अघिल्ला दिनहरुमा जस्तै गाडी चलिरहेका छन् । बिहानै खुल्ने स्कुल, कलेजमा पढाइ भइरहेको छ ।

काठमाण्डौ छिर्ने नाका र मुख्य सडकमा भने सुरक्षा जाँच भइरहेको छ । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाइएको हो । दुवै पक्षको जुलुस १० बजेपछि शुरु गर्ने तयारी छ ।

जुलुस शुरु भइसकेपछि पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयले यसअघि नै छुट्टाछुट्टै ठाउँ तोकिदिएको छ । यसअनुसार युवासङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका छन् । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ ।

यस्तै, दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*