विश्वकपको दोस्रो सेमिफाइनल आज, दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

बकैया दर्पण संवाददाता
३० कार्तिक २०८०, बिहीबार ०९:३५

मकवानपुर ३० कार्तिक ।आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल आज हुँदै छ।

उपाधि भिडन्तमा आफ्नो स्थान बनाउन आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन्। कोलकतास्थित इडेन गार्डेन रंगशालामा नेपाली समय अनुसार दिउँसो २:१५ बाट खेल शुरू हुनेछ।

अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ। दक्षिण अफ्रिका भने अहिलेसम्म उपाधिविहीन छ। आईसीसी टुर्नामेन्टको महत्त्वपूर्ण तथा नकआउट चरणका खेलमा पराजय भोग्दै आएको दक्षिण अफ्रिकालाई क्रिकेटको अभागी टोली मानिन्छ।

विश्वकपमा यी दुई टोली सात पटक आमनेसामने भएका छन्। जसमध्ये तीन पटक दक्षिण अफ्रिका र तीन पटक अस्ट्रेलिया विजयी भएको छ। एउटा खेल बराबरी भएको थियो। बराबरी भएको खेल सन् १९९९ को सेमिफाइनल थियो। त्यस वेला सुपर सिक्स चरणमा अस्ट्रेलिया दक्षिण अफ्रिकाभन्दा माथि भएकाले फाइनलमा छनोट भएको थियो।

हाल अस्ट्रेलिया विश्ववरीयतामा एकदिवसीयतर्फ दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका तेस्रोमा छ। यद्यपि, समग्रमा हेर्दा एकदिवसीयतर्फ दक्षिण अफ्रिकाको पल्ला भारी छ। यी दुई टोलीबीचको भिडन्तमा दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ भने अस्ट्रेलिया ५० पटक।

आजको खेलमा जित हात पार्ने टोलीले आगामी आइतबार अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुने उपाधि भिडन्तमा भारत विरुद्ध खेल्नेछ।
https://www.himalkhabar.com/news/138885

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*