भूकम्प : उद्धार जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८०, शनिबार १०:३५

मकवानपुर । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए।
अहिलेसम्म भूकम्पमा परेर एक सय ५४  जनाको मृत्यु भइसकेको छ भने एक सय ४० भन्दा धेरै घाइते भएका छन्।
अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उनले बताए।
कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ।
जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ। यस्तै, डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताए।
अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुगेका छन्। उनले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*