बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै
मकवानपुर।
बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै
आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र शुरु भएको पनि भन्ने गरिएको छ । नवरात्र भनेको घटस्थापनादेखिको नौ दिन अर्थात बिजया दशमीको अघिल्लो दिनसम्म हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने भनिन्छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहिबार बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।
उपत्यकाबाहिर सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ ।