महिला क्रिकेटः विश्वकप ग्लोबल छनोट खेल्ने नेपालको सपना समाप्त, नेपाल थाइल्यान्डसँग पराजित

मकवानपुर । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।
मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो। थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ।
थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदा ५९ रनमा समेटियो। नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए। अन्य खेलाडी दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान ३–३ विकेट लिए। यस्तै, नटाया बुचथमले २ तथा फनिता माया र सुनिदा चतुरङ्गरत्नले समान १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो। थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रन बनाइन्। ६३ बल खेलेकी उनले ४ चौका प्रहार गरिन्। त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए।
नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए। जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।