एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने, नेपाल र भुसालको प्रतिवेदन परिमार्जनसहित पारित

बकैया दर्पण संवाददाता
८ भाद्र २०८०, शुक्रबार १०:२६

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

भदौ ५ गते शुरु भएर हिजो अबेर सकिएको बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आउँदो असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक र महासचिव घनश्याम भुसालले पेस गर्नुभएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ । ती प्रतिवेदनमा एक सय ३१ नेताले आ–आफ्नो धारणा राख्नुभएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा एमालेसँग अलग हुनुको औचित्य, अन्तर्राष्ट्रिय तथा भूराजनीतिक परिस्थिति, विद्यमान राजनीतिक अवस्थालगायत चर्चा गरिएको खतिवडाले बताउनुभयो । बैठकमा नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदनमा असन्तुष्टि जनाउँदै फरक मतसहित जबजको चरण समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

साथै बैठकले एमसीसी सम्झौताअनुसार कार्यान्वयन भएरनभएको अनुगमन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठनको मागसमेत गरेको छ । सन् १९५० को सन्धिमा भएको असमान सम्झौता खारेज गरी नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन सरकारलाई आग्रह गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

बैठकले रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर पारेकाले त्यसको अन्तका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*