कांग्रेसका सात मन्त्रीको छुट्टै भेला, गठबन्धनमा असन्तुष्टि चुलिँदै

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १०:३४

मकवानपुर । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका अधिकांश मन्त्री गुमनाम छन्।

सत्ता गठबन्धनमा भाग पुर्‍याउन शीर्ष नेताको नजिकका व्यक्ति मन्त्रीको कुर्सीमा पुगे पनि काम गर्न नसके पछि धेरैलाई कुन मन्त्रालयको मन्त्री को छ भन्नेसमेत थाहा छैन।

मन्त्रीको कामै नभए पछि मन्त्रीलाई कसरी चिन्ने ? भन्ने प्रश्न उठेको छ। गतिलो काम गर्न नसकेका मन्त्रीहरु चिया खाने र गफ गर्नेबाहेक अन्य कुनै उपलब्धि हुन सकेको छैन। सरकारको कामको बारेमा गठबन्धन दलकै शीर्ष नेता सन्तुष्ट छैनन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले त गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना नेता तथा कार्यकर्तालाई छानीछानी जेल पठाएको भन्दै सर्वदलीय बैठकमै आक्रोश पोखेका छन्। उनले मन्त्री श्रेष्ठलाई हटाउन प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेका छन्। सभापति देउवाले हिजो प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठसँग छुट्टै छलफल गरे।

मंगलबार नै गठबन्धन सरकारमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका सबै मन्त्रीसँग छलफल गरेका थिए।

हाल क्यानडामा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतबाहेक अरु सात मन्त्रीसँग आफ्नै कार्यकक्षमा भेटेका पार्टीका उपसभापतिसमेत रहेका खड्काले कुनै उपलब्धिमूलक विषय नउठाएको छलफलमा बसेका मन्त्रीहरुले नै बताएका छन्।

यसअघि कार्यवाहक प्रधानमन्त्री हुँदा गठबन्धनका सबै मन्त्रीसँग छलफल गरेका रक्षामन्त्री खड्काले मंगलबार कांग्रेसका मन्त्रीसँग मात्रै भेटे। मंगलबार संसद् बैठक र मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि पार्टीका मन्त्रीहरू एक ठाउँमा जम्मा भएर चिया मात्रै खाएको शहरी विकास मन्त्री सीता गुरूङले बताइन्। मन्त्री गुरुङले भनिन्, ‘खाजा खानेबाहेक अन्य केही भएन। सरकारको समीक्षाबारे सामान्य कुराकानी भयो।’

उद्योगमन्त्री रमेश रिजालले पनि रक्षामन्त्रीले चिया खान बोलाउनु भएको भन्दै अन्य कुनै औपचारिक छलफल नभएको बताए। मन्त्री रिजालले पार्टीभित्र र बाहिरबाट कुनै आलोचना नभएको जिकिर गरे।

प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ। गत साउनमा बसेको कांग्रेस केन्द्रीय समितिमा समेत आफ्नो पार्टीबाट मन्त्री भएकाहरूले राम्रो काम गर्न नसकेको भन्दै आलोचना भएको थियो। कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, उद्योगमन्त्री रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*