आज कोशी प्रदेशका मूख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी

बकैया दर्पण संवाददाता
४ भाद्र २०८०, सोमबार १०:२१

मकवानपुर ।  कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ ।गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । सत्ता पक्ष गठबन्धनसँग ४७ जना सांसद संख्या भएपनि उनीहरु सबैले मूख्यमन्त्रीको पक्षमा मत दिन पाउने नपाउने टुंगो छैन ।

सभामुख बाबुराम गौतमले पदत्याग गरिसक्नु भएको छ। उपसभामुख सिर्जना दनुवारले पनि विरामी परेको भन्दै सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकाले प्रदेशसभा सञ्चालन कसले गर्ने भन्ने अन्यौल बढेको छ ।

सभामुख र उपसभामुख नभएको अवस्थामा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डल मध्येका एमाले र राप्रपाका सदस्यहरुले पनि आइतबार नै सोमबारको बैठकमा उपस्थित नहुने जानकारी गराईसकेका छन् ।

अब सत्ता पक्षकै ज्येष्ठ सदस्य इस्माइल मन्सुरीले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएको बताइएको छ । सभाध्यक्षले मत हाल्न नपाउने अवस्थामा मूख्यमन्त्री थापाको पक्षमा बहुमत जुट्न मुश्किल पर्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*