तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

बकैया दर्पण संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १२:५७

मकवानपुर । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरु प्लेकार्डमा मात्रै एकत्रित हुने नभइ जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताउनुभयो ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरु सरकारबाट नै ठगिरहेको आरोप लगाउनुभयो । उहाँले सरकारको काम निर्माण व्यवसायीहरुले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिनुभयो । उहाँले सिंहदरबार, बालुवाटार, शितलनिवास निर्माण व्यवसायीहरुले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीहरुका माग पूरा गर्न आग्रह गर्नुभयो ।

बिरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरुलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई परेको दुःख सबैको दुःख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताउनुभयो । उहाँले सरकारले आफ्ना मागहरुको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिनुभयो ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरुका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिनुुभयो । उहाँले देशभर रोलर, एक्सभेटरहरु सडक बन्द गर्नेगरी तेस्र्याएर बिरोधमा उत्रिने चेतावनी दिनुभयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुका माग पूरा गरेपछि मात्रै निर्माणका कामहरु अघि बढ्ने बताउनु भयो ।

बिरोध कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । उहाँले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाएपनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याइकन वर्तमान सरकार पन्छिन नपाउने बताउनुभयो । उहाँले देश विकासका लागि सरकार सच्चन आवश्यक रहेको भन्दै बजेट दिन नसक्ने आयोजनाहरु खारेज हुनुपर्ने माग राख्नुभयो ।

निर्माण व्यवसायीहरुले बजेट बिनाका आयोजनाहरु खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ठ म्याद थप गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*