सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन नसक्ने ओलीको टिप्पणी

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८०, आईतवार १०:३९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनु भएको छ ।

बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा सरकारको साँठगाँठ बिना एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनुभयो । सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको ओलीको आरोप छ ।

एमाले अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकाले देशमा एमालेको विकल्प नभएको जिकिर गर्दै गठबन्धनका नाममा मिलीजुली देशलाई लुट्ने काम भइरहेको बताउनुभयो । उहाँले मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको जिकिर गर्दै मुलुकको विकास र समृद्धिका लागि एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताउनु भएको छ ।

एमाले ‘मिसन २०८४’ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीको एकल बहुमत आउने गरी तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने योजना रहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै सक्रिय र सतर्कताका साथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

२ दिन चल्ने प्रशिक्षणमा १२ जिल्लाका वडाध्यक्ष, पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश र संघका सासंदलायत सहभागि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*