रेडक्रस र क्षयरोग संस्थाको कोशी अस्पतालको जग्गामा रजाइँ

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १३:५१

मकवानपुर । कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई पटक पटक हट्न भनेर पत्राचार गर्दा समेत जग्गा खाली गर्न अटेर गरेका छन् ।

कोशी अस्पताल विकास समितिले पटक पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक पहुँचको आडमा ठाउँ खाली गर्नै अटेर गरेका छन् ।

राजनीतिक आडभरोसामा विभिन्न संघसंस्थाले सरकारी अस्पतालको जग्गामा भवन र संरचना बनाएर व्यापार गर्दै आएको पाइएको छ । संघसंस्थाले भाडामा लगाएको भवनको रकम व्यक्तिगत रुपमा समेत उपयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा रहेको छ । उक्त जग्गामध्ये विभिन्न संघसंस्थाले १५ कट्ठाभन्दा बढी जग्गा कब्जा गरेका छन् । अस्पतालको जग्गा क्षयरोग निवारण संस्था, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालयलगायतले कब्जा गरेका छन् ।

जग्गामा बनाएको संरचनाबाट उठ्ने भाडासमेत ती सस्थाहरुले नै प्रयोग गर्दै आएको अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीले बताए । उनका अनुसार ती संस्थाहरुले मासिक भाडा असुलिरहेका छन् ।

अस्पतालको जग्गा ओगटेर बनाइएका तीनवटा भवन भने यसअघि नै भत्काइएको थियो । अस्पताल प्रशासनका अनुसार गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले अढाई कट्ठा, नेपाल रेडक्रस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगटेका छन् । जग्गामा संरचना बनाएर ३० जना जतिलाई भाडामा लगाइएको छ ।

अस्पतालका अनुसार क्षयरोग संस्थाले ओगटेको जग्गामा संरचना बनाएर श्रेष्ठ खाजा घर (हेमन्तकुमार श्रेष्ठ), मदिना होटल खाजा घर (फिरदोष अन्सारी), पशुपति किराना पसल (घनश्याम अधिकारी), पूर्वाञ्चल बायो मेडिकल सोलुसन (स्मृति देव), खुश्बु खाजा घर (पार्वती ताजपुरियां) भाडामा लगाइएको छ ।

यस्तै सहीम मोटरसाइकल रिपेरिङ सेन्टर (रहीम साफी), मोनिका फार्मेसी (प्रितम मुखिया) र न्यू बाबा होटल (घनश्याम अधिकारी)लाई भाडामा लगाइएको छ ।

क्षयरोगले भाडावापत पाँचदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको अस्पताल विकास समितिका पूर्वसदस्य बुढाथोकीले जानकारी दिए ।

‘अस्पतालको जग्गामा संरचना बनाएर भाडा लगाएवापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रूपैयाँभन्दा बढी उठाइरहेको छ’, उनले भने, ‘जग्गा खाली गरिदिन अस्पतालका तर्फबाट पत्राचार गर्दा भाडा तिरिरहेको भनेर भाडावालहरुले छाड्न मानेनन् ।’

बुढाथोकीका अनुसार गणेश मन्दिरले संरचना बनाएर गणपति पत्रपत्रिका पसल (रमेशप्रसाद लुइँटेल)ं र उज्ज्वल फर्मा (अरुण ठाकुर)लाई भाडामा लगाएको छ ।

यस्तै कलश फर्मा (गणेश थापा), बालबालिका क्लिनिक, किसान जनरल स्टोर (बब्लु साह) र श्रुति फार्मेसी (सूर्यनारायण कामत)लाई भाडामा लगाएको छ । आफैंले पनि जग्गा प्रयोग गरिरहेको मन्दिरले भाडावापत मासिक एक लाख ६० हजार रूपैयाँभन्दा बढी उठाइरहेको उनले बताए ।

उनका अनुसार देवकोटा पुस्तकालयले पान पसल (बलराम सरदार), देवकोटा होटल (लक्ष्मण कार्की), सुपर संगीत आर्ट (अवधनारायण राजवंशी), मःम पसल (सचिन श्रेष्ठ), देवकोटा हेयर कटिङ शैलुन (महानन्द ठाकुर), किराना पसल (निरज घिमिरे), ए–वन हेयर कटिङ शैलुन (राकेश ठाकुर), भट्टराई पान पसल (.ज्योति भट्टराई), शक्तिमाता हार्डवेयर (निश्चल अर्याल), खिलेश्वर ट्रेड सप्लायर्सलगायतलाई भाडामा लगाएको छ ।

त्यस्तै रेडक्रसले संरचना बनाएर वाणिज्य बैंकदेखि मेडिकल हल, फोटो स्टुडियो, तरकारी र किराना पसललाई भाडामा लगाएको छ । उसले भाडावापत मासिक डेढ लाख हाराहारी उठाउने गरेको बुढाथोकी बताउँछन् । रेडक्रसको भवन नै अस्पतालकै जग्गामा छ ।

अस्पताल विकास समितिको अध्यक्षमा महेश भट्टराई हुँदा जग्गा फिर्ता ल्याउन निकै पहल भएको थियो । ओगटेर बसेकाले छाड्न नमान्दा र कानूनी झमेला व्यहोर्नु पर्दा समितिको पहलले सार्थकता पाउन सकेन । समितिले अस्पतालको जग्गा कसले कति ओगटेका छन् भन्ने तथ्यांक निकालेर खाली गराउन प्रक्रिया अघि बढाएको थियो ।

तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट ड. रविनराज सिंहले गत वैशाख २५ गते जग्गा खाली गरिदिन पत्राचार गरेका थिए ।
भाडावालहरुले विभिन्न संघसंस्थालाई भाडा तिरिरहेकाले जग्गा खाली गर्न नसकिने व्यहोराको जवाफ अस्पताललाई पठाए । अदालतको फैसलाअनुसार क्षयरोगलाई पनि जग्गा खाली गरिदिन अस्पतालले आग्रह गरेको थियो ।

अहिले अस्पताल विकास समितिको अध्यक्षमा डा. फरवार्ड सिलवाल र मेसुमा डा. चन्द्रभाल झा छन् । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*