अस्पतालका फार्मेसीमा म्याद नागेका र दर्ता नभएका औषधि भेटिएको स्वास्थ्यमन्त्रीको दाबी

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १३:४८

मकवानपुर । काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग, उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको हो ।

“अनुगमनका क्रममा डेट एक्स्पायर भएका, कतिपय बेच्नै नपाइने औषधिहरु समेत भेटिएको छ । एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखियो,” मन्त्री बस्नतेले भने ।

काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका लागि २० वटा टोली खटाइएको उनले जानकारी दिए । “उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म टोलीको निष्कर्ष आउँछ । त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइन्छ,” मन्त्री बस्नेतले भने ।

मन्त्रीसहितको टोलीले वीर, पाटन अस्पताल तथा अल्का अस्पतालका फार्मेसी अनुगमन गरेको थियो । उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*