मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधि सभाबाट पारित

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:२१

मकवानपुर । मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले विधेयक पारित भएको हो ।

अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो ।

विधेयक पारित भएसँगै मिटर ब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*